त्रिकोणात्मक टी–२० सिरिजको उपाधिको लागि नेपाल र पपुवा न्युगिनी भिड्ने 

हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधिको लागि नेपाल र पपुवा न्युगिनी भिड्ने भएका छन् । आज(मंगलबार) भएको दोस्रो खेलमा आयोजक हङकङलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै पपुवा न्युगिनीले नेपालसँगको भेट पक्का गरेको हो ।

यसअघि मंगलबारै भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटिएको थियो । हङकङका लागि जिसन अलीले २९ बलमा छ चौका र एक छक्काको मद्दतले ५५ रनको अर्धशतकीय पारी खेले भने नस्रुला राना र एहसान खानले समान १६-१६ र बाबर हायतले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



पपुवा न्युगिनीका लागि काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान २-२ विकेट लिए । १२२ रनको लक्ष्य लिएर मैदान उत्रेको पपुवा न्युगिनीले १२ दशमलव चार ओभरमा कुनै विकेट नै नगुमाइ पूरा गर्यो । पपुवा न्युगिनीका लागि सेसे बाउले ४३ बलमा चौका छ चौका र एक छक्काको मद्दतमा ६१ र टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई फाइनलमा पुर्याए ।

जितसँगै पपुवा न्युगिनीले दुई खेलमा दुई अङ्क जोड्यो भने समान खेलबाट एक अङ्क जोडेको हङकङ फाइनल पुग्नबाट बञ्चित भयो । त्यस्तै समान खेलमा तीन अंक जोडेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएपछि दुवै टोलीले समान १-१ अंक बाँडेका थिए । फाइनल खेल भोलि हुनेछ ।

 

सम्बन्धित समाचार