त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि पपुवा न्यूगिनीलाई, नेपाल ८६ रनले पराजित

हङकङमा सम्पन्नत्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको उपाधि पपुवा न्यूगिनीले जितेको छ । बुधबार भएको फाइनल खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पपुवा न्यूगिनीले उपाधि जितेको हो ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । पपुवा न्यूगिनीका लागि टोनी उराले ३७ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ६१ रनको अर्धशतकीय पारी खेले भने एली नाओ ३० रनमा अविजित रहे ।



त्यस्तै हिरि हिरिले १५ रन जोड्दा हिला भारेले १८, चाद सोपरले १३ र किप्लिङ डोरिगाले १४ रन बनाए । नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान ३-३ विकेट लिए भने करण केसी र गुल्सन झाको भागमा समान १-१ विकेट रह्यो । १७२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो ।

नेपालका लागि सन्दिप जोराले सर्वाधिक १७ रनको योगदान दिए भने आरिफ शेखले १५ र कप्तान रोहितकुमार पौडेलले १२ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पपुवा न्यूगिनीका लागि कबु मोरे, सेसे बाउ, चाद सोपर र सेमो कमेले समान २-२  विकेट लिए भने एली नाओको भागमा एक विकेट रह्यो ।

जितसँगै पपुवा न्यूगिनीले प्रतियोगिताको उपाधि जित्दा नेपाल भने दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै हङ्कङ तेस्रो भयोे । नेपालले मंगलबार भएको दोस्रो खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो भने  नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान १-१ अंक बाँडेका थिए । यता मंगलबारै भएको तेस्रो खेलमा पपुवा न्यूगिनीले हङकङलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

 

 

सम्बन्धित समाचार