नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ चैत l
नुवाकोट काठमाडौँ पत्रकार समाजले नुवाकोट, लिखु –४ रानीभार निवासी रिक्सा चालक पाण्डव राईको जहानपरिवारको सहयोगार्थ सङ्कलित तीन लाख १०५ आज हस्तान्तरण गरेको छ ।
हाल कामपा खुसीबुँ बस्ने रिक्सा चालक राईको गत फागुन २६ गते ५६ वर्षका उमेरमा निधन भएको थियो । उनको परिवार शव परिवहन, शवदहन र किरिया खर्चका अभावले बिलखबन्दमा परेको देखेर समाजले देशविदेशबाट रकम सङ्कलन गरेको थियो भने प्रेषित समाचारबाट थाहा पाएका अन्यले पनि सहयोग गरेका थिए ।
सोअनुसार राजधानीका पत्रकार, व्यवसायी, साहित्यकार, चिकित्सक, समाजसेवीबाट तिस हजार १०५ र पत्रकार रामचन्द्र भट्टका संयोजनमा अमेरिका, टेक्सास नुवाकोट समुदायबाट दुई लाख ७० हजार सङ्कलन भएको थियो ।
अन्य समाजसेवीबाट पनि करिब १५ लाख गरी हालसम्म १८ लाख उठिसकेको स्व पाण्डवका छोरा सरोजले जानकारी दिए । किरियामा उनकी आमा माइली पनि रहेकी छन् । पत्रकार समाजका अध्यक्ष रमेश जमकट्टेलका नेतृत्वमा पशुपति क्षेत्र विकास कोष, किरियापुत्री भवन (कोठा नं १०७) मा गएका सहसंयोजक नवराज घिमिरे र अन्य सदस्य तथा अमेरिका, टेक्सासबाट आएका नुवाकोटका प्रतिनिधि देवेन्द्र गजुरेल (लिखु–१, ढिकुरे बजार) ले आज सो रकम हस्तान्तरण गर्दै दाताले दिएको रकम सदुपयोग गर्न पीडितलाई आग्रह गरे । पूर्वप्रदेशसभा सदस्य नरोत्तम वैद्यले स्व राईको दाहसंस्कारका साथै पीडितलाई अन्य सहयोग गरेका थिए ।
राईको शव उनकै रिक्सामा राखेर परिवारका सदस्यले चलाउँदै, घचेट्दै पशुपति, विद्युतीय शवदाहगृहमा पुर्याएका थिए ।