आइपिएलको उद्घाटन खेलमा चेन्नई विजयी, बैंगलोर ६ विकेटले पराजित 

भारतमा शुक्रबारबाट सुरु भएको १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईको चेपाक स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । बैंगलोरका लागि अनुज रावत ४८ रन बनाए भने र दिनेश कार्तिक ३८ रनमा अविजित रहे  । त्यस्तै कप्तान फाफ डुप्लेसिसले ३५ रन बनाई आउट भए भने क्यामरुन ग्रिनले १८ र विराट कोहलीले २१ रन जोडे ।



चेन्नईका लागि मुस्ताफिजुर रहमानले ४ विकेट लिए भने दीपक चाहरको भागमा एक विकेट रह्यो । १७४ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले १८.४ ओभरमै ४ विकेट गुमाउँदै पुरा गर्यो । चेन्नईको लागि रचिन रविन्द्रले ३७ रन बनए भने शिवम् दुवेले ३४ रन जोडे । यस्तै अजिंक्य रहाणेले २७ रन जोड्दा रविन्द्र जडेजा २५ रनमा अविजित रहँदा ड्यारीयल मिचेल २२ र कप्तान गायकवाड १५ रनको योगदान दिए । बैंगलोरका लागि क्यामरुन ग्रिनले २ विकेट लिए भने यश दयाल र करन शर्माको भागमा समान १–१ विकेट रह्यो ।

त्यसअघि उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिएका थिए  । प्रतियोगिता अन्तर्गत शनिबार दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेलमा पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् भने राति ७ः४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबाद आमने सामने हुनेछन् ।

सम्बन्धित समाचार