मस्कोस्थित कन्सर्ट हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु

मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले शनिबार बताएका छन् ।

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ ।



आतङ्कवादी आक्रमणका कारण ६० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ ।

आन्तरिक मामिला मन्त्रालय र सङघीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ । मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ ।

घटनास्थलमा रहेका आरआईए नोभोस्ती समाचार संस्थाका सम्वाददाताका अनुसार नकावधारी आक्रमणकारीले शुक्रबार एक्कासी भवनभित्र पसेर गोली चलाउनुका साथै भीडमा विस्फोटक पदार्थ फ्याँकेका थिए ।

मस्कोको उत्तरी क्रास्नोगोस्र्क उपनगरमा रहेको क्रोकस सिटी हलमा आक्रमणपछि धुँवाको मुस्लो भरिएको र त्यसपछि आगोको ज्वाला फैलिएको थियो ।

आक्रमण हुँदा घटनास्थलमा पुगेका संगीतकर्मी एलेक्सीले भन्नुभयो, कन्सर्ट सुरु हुनुभन्दा केही समय पहिले एक्कासी गोली र भीडमा व्यापक कोलाहल सुनिएको थियो ।

होहल्लाको लगत्तै त्यहाँ स्वचालित हतियारबाट गोली चलाइएको थाहा भयो । उहाँले भन्नुभयो, “सम्भवतः यो रूसको इतिहासमा निकै विनाशकारी आतङ्ककारी आक्रमणमध्ये एक हो ।” मानिसहरु आपतकालिन निकासतर्फ दौडिदै गर्दा कन्सर्टमा जानेहरु एक अर्काको टाउकोमा चढेर बाहिर निस्किएको उहाँले बताउनुभयो ।

रूसी समाचार संस्थाका अनुसार रूसको अनुसन्धान समितिले शनिबार ६० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पाँच बालबालिकासहित ११५ जनालाई अस्पताल भर्ना गरिएको र तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।

आक्रमणमा घाइते भएका ११० जना वयस्क व्यक्तिमध्ये ६० जनाको अवस्था गम्भीर छ । राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी समाचार एजेन्सीहरूलाई बताएअनुसार अधिकारीहरूले ‘आतङ्कवादी’ अनुसन्धान सुरु गरिएको बताएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणपछि ‘निरन्तर’ घटनाबारे जानकारी लिइरहनुभउको बताइएको छ ।

रूसको नेसनल गार्डले घटनास्थलमा रहेको र आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । एएफपीका एक संवाददाताले खोजी कुकुरसहित प्रहरी अधिकारीहरूले भवनको छेउमा पार्किङ गरिएका सवारी साधनहरूको निरीक्षण गरिरहेको देखेको बताए ।

इस्लामिक स्टेट समूहले आफ्ना लडाकुहरूले मस्कोको बाहिरी इलाकामा ‘ठूलो जमघट’ मा आक्रमण गरेको र सकुशल आफ्नो अखडामा फर्किएको बताएको छ ।

सम्बन्धित समाचार