आइपिएलमा पञ्जावको विजयी सुरुवात, हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाव किंग्स र कोलकाता नाइट राइडर्सले सुखद सुरुवात गरेका छन् । शनिबार भएको पहिलो खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा कोलकाताले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित निकाल्यो ।

पञ्जावको घरेलु मैदान मोहाली स्थित यादवेन्द्र सिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । दिल्लीका लागि साहि होपले ३३ रन बनाए भने डेभिड वार्नरले २९ रनजोड्दा मिचेल मार्सले २० रनको योगदान दिए । त्यस्तै ऋषव पन्त १८ रन बनाई आउट हुँदा अक्षर पटेलले २१ र अभिषेक पोरेलले ३२ रन बनाए ।



पञ्जावका लागि अर्सदिप सिंह र हर्सल पटेलले समान २-२ विकेट लिए । १७५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो । पञ्जावको लागि साम कुरानले ६३ रनको अर्धशतकीय पारी खेले भने लियम लिभिङस्टोन ३८ रनमा अविजित रहे । यस्तै प्रभसिम्रन सिंहले २६ रन जोड्दा कप्तान शिखर धवनले २२ रन बनाए । दिल्लीका लागि खलिल अहमद र कुलदिप यादवले समान २-२ विकेट लिए भने इशान्त शर्माको भागमा एक विकेट रह्यो ।

त्यसैगरी शनिबारै भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । भारतको इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । कोलकाताका लागि आन्द्रे रसेल र फिलिप साल्टले अर्धशतकीय पारी खेल्दै क्रमश:  ले ६४ र ५४ रन बनाए  ।

यस्तै, रमनदीप सिंह ३५ रन बनाई आउट भए भने रिन्कु सिंहले २३ रन जोडे । हैदराबादका लागि थनगरासु नटराजनले ३ विकेट लिए भने मंयक मार्कन्डेले २ विकेट लिंदा प्याट कमिन्सको भागमा १ विकेट रह्यो । २०९ रनको लक्षय लिएर मैदान उत्रेको हैदराबादले निर्दहरित २० ओभरमा ७ विकेट गुमाउँदै  २०४ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि हेनरीच क्लासेनले ६३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै मंयक अग्रवाल र अभिषेक शर्माले समान ३२-३२ रन जोड्दा राहुल त्रिपाठीले २०, एइटन माक्रमले १८ र सहबाज अहमेदले १६ रन बनाए ।

प्रतियोगिता अन्तर्गत आज पनि दुई खेलहरु हुनेछन् । नेपाली समय अनुसार दिउँसो ३:४५ पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स जैयपुरमा भिड्दै छन् भने दोस्रो खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स अहमेदाबादमा बेलुकी ७:४५ मा आमने सामने हुनेछन् ।

सम्बन्धित समाचार