पहिलो टी-२० मा नेपालद्वारा आयरल्यान्ड ‘ए’ छ विकेटले पराजित 

आयरल्यान्ड ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल विजयी भएको छ । सोमबार भएको खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो । आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाए भने म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६-१६ रन जोडे ।



त्यस्तै रफिओन ह्यान्डले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान २-२  विकेट लिए भने करण केसी र कुशल मल्लको भागमा समान १-१ विकेट रह्यो । १२२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा चार चौकाको मद्दतले ३७ रनमा अविजित रहे भने सन्दीप जोराले ३६ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले २० रनमा अविजित रहे र  आसिफ शेखले १६ रन बनाए । चौथो विकेटका लागि कुशल र सन्दीपले ५४ रनको साझेदारी गर्दै नेपाललाई जितको आधार बनाएका थिए ।

आयरल्यान्डका लागि गारेथ डेलानीले २ विकेट लिए भने थोमस मायस र बेन ह्वाइटको भागमा समान १-१ विकेट रह्यो । जितसँगै नेपालले दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

 

 

सम्बन्धित समाचार