आइपिएलमा बैंगलोरद्वारा पञ्जाब ४ विकेटले पराजित

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । सोमबार राति भएको खेलमा बैंगलोरले पञ्जाब किङ्सलाई ४ विकेटले पराजित गरेको हो ।

जारी प्रतियोगितामा बैंगलोर यो पहिलो जित हो भने पञ्जाबको पहिलो हार । बैंगलोरको एम चेन्नास्वामीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै  १७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए भने जितेश शर्माले २७ रन जोडे ।



त्यस्तै प्रभ सिमरन सिंहले २५ रन जोड्दा साम करनले २३ र शंशाक सिंह २१ रनमा अविजित रहे । बैंगलोरका लागि ग्लेन म्याक्सवेल र मोहम्मद सिराजले समान २-२ विकेट लिए भने अल्जारी जोसेप र यस दयालको भागमा समान १-१ विकेट रह्यो 

१७७ रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलोरले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बैंगलोरका लागि विराट कोहलीले ४९ बलमा ११ चौका र दुई छक्कासहित सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले भने दिनेश कार्तिक २८ र महिपाल लोम्रोर १७ रनमा अविजित रहे ।

यस्तै रजत पढीदरले १८ रन बनाई आउट भए भने अनुज रावतले ११ रन जोडे । अन्तिम ओभरमा दश रन चाहिएको अवस्थामा दिनेश कार्तिकले उत्कृष्ट ब्याटिङ गर्दै बैंगलोरलाई जित दिलाएका हुन् । पञ्जाबको लागि कागिसो रविडा र हरप्रित ब्रारले सर्वाधिक समान २-२ विकेट लिए भने हर्ष पटेल र साम कुरानको भागमा समान १-१ विकेट रह्यो  ।

पहिलो खेलमा बैंगलोर चेन्नई सुपर किंग्ससॅंग ६ विकेटले पराजित भएको थियो भने पञ्जाबले पहिलो खेलमा दिल्ली क्यापीटल्सलाई ४ विकेटले हराएको थियो । प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्स भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे सुरु हुनेछ ।

 

सम्बन्धित समाचार