आइपिएलमा हैदराबादद्वारा मुम्बई ३१ रनले पराजित, बन्यो यस्तो कीर्तिमान

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबाद विजयी भएको छ । कीर्तिमानले भरिपूर्ण खेलमा हैदराबादले मुम्बईलाई इन्डियन्सलाई ३१ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा हैदराबादको यो पहिलो जित हो भने मुम्बईको लगातार दोस्रो हार ।

हैदराबादको घरेलु मैदान राजिव गान्धि क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । हैदराबादका लागि ट्रेभिस हेड, र हेनरिक क्लासेनले अर्धशतक प्रहार गरे । क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्काको मद्दतमा ८० रनमा अविजित रहे भने शर्माले २३ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६३ रन बनाउदा हेडले २४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ६२ रन जोडे ।



त्यस्तै एडेन माक्ररमले २८ बलमा २ चौका र १ छक्काको सहयोगमा ४२ रनमा नट आउट रहे । क्लेसन र माकरमले चौथो विकेटका लागि १ सय १६ रनको शतकीय साझेदारी गरे । मुम्बईका लागि हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाले समान १-१ विकेट लिए ।

२७९ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक वर्माले ३४ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६४ रनको अर्धशतकीय पारी खेले भने टोलीलाई जित दिलाउन सकेनन् । यस्तै टिम डेभिडले २२ बलमा ४२ रनमा अविजित रहँदा इशान किसनले ३४, नमन धिरले ३०, रोहित शर्माले २६, हार्दिक पाण्ड्याले २४ र रोमारियो सेफार्डले १५ रन बनाए ।

हैदराबादका लागि जयदेव उनाडकर्ड र कप्तान प्याट कुमिन्सले दुई दुई विकेट लिँदा एक विकेट शाहबाज अहम्मदले लिए । प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स नेपाली समय अनुसार ७:४५ बजे जैपुरमा भिड्दै छन् ।

हैदराबाद र मुम्बईको खेलमा बन्यो यस्तो किर्तीमान
हैदराबादले मुम्बईलाई दिएको लक्ष्य आइपिएल इतिहासमा एकै इनिङमा बनेको सर्वाधिक उच्च रन स्कोर हो । यसअघि २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरले पुने वारियर्स इन्डियाविरुद्ध २६३ रन बनाएको थियो ।

यी दुई टोलीबीचको खेलले टी-२० इतिहासमा एकै खेलमा बनेको सर्वाधिक रनको कीर्तिमान पनि बनायो । खेलमा दुबै इनिङमा गरी कुल ५ सय २३ रन बनेको थियो । त्यसैगरी यस खेलमा कुल ३८ छक्का प्रहार भएको थियो, जुन कुनै पनि टी-२० खेलमा सर्वाधिक छक्काको कीर्तिमान हो ।

 

 

 

 

 

सम्बन्धित समाचार