आइपिएलमा कोलकाताद्वारा बैंगलोर ७ विकेटले पराजित  

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो ।

जारी प्रतियोगितामा कोलकाताको यो लगातार दोस्रो जित हो भनर बैंगलोरको दोस्रो हार । बैंगलोरको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहलीले ५९ बलमा चार छक्का र चार चौकाको मद्दतमा अविजित रहँदै ८३ रनको अर्धशतकीय पारी खेले भने क्यामेरुन ग्रीनले ३३ रन बनाए ।



त्यस्तै ग्लेन म्याक्सवेल २८ रन बनाई आउट भए भने दिनेश कार्तिकले २० रन जोड्नु बाहेक अन्य प्रदर्शन उल्लेखनिय रहेन । कोलकाताको लागि आन्द्रे रसेल र हर्षित रानाले समान २-२ विकेट लिए भने सुनिल नारिनको भागमा एक विकेट रह्यो । १८३ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकताले १६.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । कोलकाताका लागि वेंकटेश ऐयरले ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय पारी खेले भने सुनिल नारिनले ४७ रन बनाए ।

यस्तै कप्तान श्रेयर ऐयर ३९ रनमा अविजित रहँदा फिल साल्टले ३० रन बनाए । बैंगलोरका लागि यश दयाल, मंयक डगर र विजयकुमारले समान १–१ विकेट लिए । जितसंगै कोलकाता दुई खेलमा दुई जित सहित ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ भने तीन खेलमा एक जित र दुई हार सहित दुई अंक जोडेको बैंगलोर छैटौं स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार बेलुकी ७:४५ बजे लखनऊ सुपर जायन्टस र पञ्जाव किंग्स लखनऊमा भिड्दै छन् ।

सम्बन्धित समाचार