आयरल्यान्ड ‘ए’ले जित्यो एक खेल अगावै टी-२० सिरिज, नेपाल ‘ए’ ४० रनले पराजित 

नेपाल ‘ए’लाई पराजित गर्दै आयरल्यान्ड ‘ए’ले एक खेल अगावै टी-२० सिरिज जितेको छ । शनिबार भएको दोस्रो खेलमा नेपाललाई ४० रनले पराजित गर्दै आयरल्यान्डले तीन टी-२० शृंखलाको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । आयरल्यान्डका लागि कप्तान निल रक र पिटर मुरले अर्धशतकीय पारी खेल्दै क्रमश: ७१ र ६५ रन बनाए । रकले ३४ बलमा १ चौका र ७ छक्का प्रहार गरे भने मुरले २६ बलमा ३ चौका र ७ छक्का प्रहार गरे  । त्यस्तै जेम्स म्याकोलमले २६ रन जोड्दा फिओन ह्यान्ड १९ रनमा अविजित रहे । नेपालका लागि सागर ढकालले ३ विकेट लिए भने कमलसिंह ऐरी र पवन सर्राफको भागमा समान १-१ विकेट रह्यो ।



२२५ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको नेपाल १७.१ ओभरमा सबै विकेट गुमाउँदै १८४ रनमा समेटिएको थियो । नेपालका लागि देव खनालले २५ बलमा १ चौका र ३ छक्काको मद्दतमा ४७ रन बनाए भने बसिर अहमद २७ रन जोडे । यस्तै कप्तान विनोद भण्डारी २६ रन बनाई आउट भए भने लोकेश बमले २५, आरिफ शेखले १४ र कमलसिंह ऐरीले ११ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।

आयरल्यान्डका लागि बेन ह्वाइटले ३ विकेट लिए भने फिओन ह्यान्ड र थोमस मेयरले समान २-२ विकेट लिँदा म्याथ्यू फोस्टर र ग्यारेथ डेनालीको भागमा समान १-१ विकेट रह्यो । त्यसअघि शुक्रबार भएको पहिलो खेलमा आयरल्यान्डले नेपालाई २१ रनले पराजित गरेको थियो ।

सम्बन्धित समाचार