आइपिएलमा लखनउद्वारा पञ्जाब २१ रनले पराजित  

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । शनिबार राति भएको खेलमा लखनउले पञ्जाब किंग्सलाई २१ रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा लखनउको यो पहिलो जित हो भने पञ्जाबको दोस्रो हार । लखनउको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । लखनउको लागि क्विन्टन डीककले ५४ रनको अर्धशतकीय पारी खेले भने कप्तान निकोलस पुरनले ४२ रन बनाए  ।



त्यस्तै, कुर्नाल पाण्ड्या ४३ रनमा अविजित रहँदा मार्कुस स्टोइनिस १९ र केएल राहुलले १५ रन जोडे । पञ्जावका लागि साम करनले ३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट लिँदा कागिसो रबडा र राहुल चहरको भागमा समान १-१ विकेट रह्यो । २०० रनको लक्ष्य लिएर मैदान उत्रेको पञ्जाब निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रनमात्र बनाउन सक्यो ।

पञ्जावको लागि कप्तान शिखर धवनले ७० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई दोस्रो जित दिलाउन सकेनन् । यस्तै जोनी ब्यारिस्टोले ४२ रन बनाई आउट भए भने लियम लिभिङस्टोन २८ रनमा नटआउट रहँदा  प्रभसिम्रन सिंहले १९ रन जोडे । लखनउको लागि आइपिएलमा डेब्यु गरेका मंयक यादवले ३ विकेट लिए भने मोसिन खानको भागमा २ विकेट रह्यो ।

प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा दिउँसो ३:४५ बजे गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद भिड्दै छन् भने दोस्रो खेलमा बेलुकी ७:४५ बजे दिल्ली क्यापिटल्स र चेन्नई सपुर किंग्स आमने सामने हुँदै छन् ।

सम्बन्धित समाचार