आइपिएलमा राजस्थानद्वारा मुम्बई ६ विकेटले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्स विजयी भएको छ । सोमबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो ।

जारी प्रतियोगितामा राजस्थानको यो लगातार तेस्रो जित हो भने मुम्बईको लगातार तेस्रो हार । मुम्बईको घरेलु मैदानमा वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै   १२५ रन बनाएको थियो । मुम्बईको लागि कप्तान हार्दिक पाण्ड्याले ३४,तिलक बर्माले ३२ टिम डेभिडले १७ र इशान किशनले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



राजस्थानको लागि ट्रेन्ट बोल्ट र युजवेन्द्र चाहलले समान ३-३ विकेट लिए भने नन्द्रे गर्गरले २ विकेट लिँदा आभेष खानलेको भागमा एक विकेट रह्यो । मुम्बईले दिएको १२६ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानका लागि रियान परागले अविजित रहँदै ५४ रनको अविजित अर्धशतकीय पारी खेले भने रविचन्द्रन आश्विनले १६ रन जोड्दा जोस बटलरले १३ र सन्जु स्यामसनले १२ रन बनाए ।

मुम्बईका लागि आकाश मडवालले ३ विकेट लिँदा कउइना मफाकाको भागमा एक विकेट रह्यो । जितसंगै ३ खेलमा  खेलमा ६ अंक जोडेको राजस्थान शीर्ष स्थानमा उक्लिएको छ भने लगातार तेस्रो हार व्यहोरेको मुम्बई अंकविहिन रहँदै  तालिकाको पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्स भिड्दै छन् ।

सम्बन्धित समाचार