आइपिएलमा लखनउद्वारा बैंगलोर २८ रनले पराजित   

भारतमा जारी इन्डियन प्रमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनउ लेरोयल च्यालेन्जर्स बैंगलोरलाई २८ रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा लखनउको यो दोस्रो जित हो भने बैंगलोरको तेस्रो हार । बैंगलोरको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । लखनाउका लागि क्विटन डि ककले ५६ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय पारी खेले भने निकोलस पुरन ४० रनमा अविजित रहे  ।



त्यस्तै मार्कस स्टोईनेसले २४ रन जोड्दा कप्तान केएल राहुलले २० रन बनाए । बैंगलोरका लागि ग्लेन म्याक्सवेलले २ विकेट लिए भने यस दयाल, रिच टोप्ली र मोहम्मद सिराजको भागमा समान १-१ विकेट रह्यो ।१८२ रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलोर १९.४ ओभरमा १५३ रनमा समेटिएको थियो । बैंगलोरका लागि महिपाल लोमरोरले ३३ रन बनाए भने रजत पटिदारले २९, फाफ डुप्लेसिसले १९ र विराट कोहलीले २२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लखनउको लागि मंयक यादवले ३ विकेट लिए भने नभिन उल हकले २ विकेट लिंदा मनिमरन सिद्धार्थ, यस ठाकुर र मार्कुस स्टोइनिसको भागमा समान १-१ विकेट रह्यो । जितसंगै लखनउ ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोड्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ भने ४ खेलमा १ जित र ३ हारसहित २ अंक जोडेको बैंगलोर पुछारबाट दोस्रो स्थानमा छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार बेलुको ७: ४५ बजे दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् ।

सम्बन्धित समाचार