आइपिएलमा कोलकाताद्वारा दिल्ली १०६ रनले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । बुधबार राति भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जारी प्रतियोगितामा कोलकाताको यो लगातार तेस्रो जित हो भने दिल्लीको तेस्रो हार । टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । कोलकाताका लागि सुनिल नारेनले ८५ र अङकृष रघुवंशीले ५४ रनको अर्धशतकीय पारी खेले भने आन्द्रे रसेलले ४१ रन बनाउँदा रिन्कु सिंहले २६ र श्रेयस अय्यरले १८ रन जोडे । दिल्लीका लागि एनरिच नोट्जेले ३ विकेट लिए भने इशान्त शर्माको भागमा २ विकेट रह्यो  ।



२७३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको दिल्ली क्यापिटल्स १७.२ ओभरमै अलआउट हुँदै १६६ रनमा समेटिएको थियो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टन स्टब्सले ५४ रको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै  डेभिड वार्नरले १८ र पृथ्वी साले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकाताको लागि भिभव एरोना र वरुन चक्रवर्तीले समान ३-३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट लिँदा आन्द्रे रसेल र सुनिल नारेनको भागमा समान १-१ विकेट रह्यो । जितसंगै कोलकाता ३ खेलमा ६ अंकका जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने ४ खेलमा १ जित र ३ हार सहित २ अंक जोडेको दिल्ली तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे गुजरात टाइटन्स र पञ्जाब किंग्स भिड्दै छन् ।

सम्बन्धित समाचार