नेपाल ‘ए’ लाई ११४ रनले पराजित गर्दै आयरल्यान्ड ‘ए’ले जित्यो एकदिवसीय शृङ्खला  

आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा पनि नेपालको ‘ए’ टोली पराजित भएको छ । शुक्रबार भएको खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जितसंगै आयरल्याण्ड ‘ए’ले एक खेल अगावै तीन खेलको शृङ्खला २-० ले जित्दै एकदिवसीय शृङ्खलामाथि कब्जा जमाएको छ । आयरल्याण्ड ‘ए’ पहिलो खेलमा २१ रनले विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो ।



उसका लागि गानिभ होयले ५९ बलमा दुई छक्का र पाँच चौको सहयोगमा ५० रनको अर्धशतकीय पारी खेले भने  कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन जोड्दा लियाम मकार्थीले ३५ र पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले समान ३-३ विकेट लिए भने मौसम ढकालले २ विकेट लिँदा कमलसिंह ऐरीको भागमा एक विकेट रह्यो ।

१७५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ‘ए’ १६ दशमलव पाँच ओभरमा ६० रनमा समेटियो । नेपाल ‘ए’का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका पाँच ब्याटरहरु शून्य रनमा आउट भएका थिए । आयरल्याण्ड ‘ए’का लागि म्याथ्यु हम्फ्रिजले ६ विकेट लिए भने फिओन ह्याड र थोमस माएजको भागमा समान २-२ विकेट रह्यो । प्रतियोगिताको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आगामी आइतबार हुनेछ ।

सम्बन्धित समाचार