आइपिएलमा हैदराबादद्वारा चेन्नई ६ विकेटले पराजित  

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रियिमर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । शुक्रबार राति भएको खेलमा हैदराबादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा चेन्नईको यो दोस्रो हार हो । हैदराबादको राजीव गान्धी अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । चेन्नईका लागि शिवम दुवेले सर्वाधिक ४५ रन बनाए भने अजिंक्या रहानले ३५ रन जोड्दा रवीन्द्र जडेजा ३१ रनमा अविजित रहे ।



त्यस्तै कप्तान रुतुराज गैयकवाडले २६ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले समान १–१ विकेट लिए । १६६ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादका लागि ऐडन मारक्रमले  ५० रनको अर्धशतकीय पारी खेले भने अभिषेक शर्माले १२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाए ।

यस्तै ट्राभिस हेडले३१ रन जोड्दा सहबाज अहमदले १८ तथा नितिश कुमार रेड्डी र हेनरिच क्लासेन अविजित रहँदै क्रमश: १४ र १० रन बनाए । चेन्नईका लागि मोइन अलीले २ विकेट लिए भने दीपक चाहर र महिश थिकशानाको भागमा समान १–१ विकेट लिए । जितसँगै हैदराबाद ४ खेलमा ४ अङ्क जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने समान खेलमा ४ अंक नै जोडेको चेन्नई तेस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर जयपुरमा भिड्दै छन् ।

सम्बन्धित समाचार