सिस्नो पानी न्यानो लाग्न थालेको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजको बेथिति र विकृति अन्त्य गर्न सिस्नो पानी नेपाल सधैँ सक्रिय हुँदैआएको बताउनुभएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित कार्यक्रममा उहाँले राजनीतिकर्मीलाई सचेत बनाउन सिस्नोपानीजस्ता सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहन्छ भन्नुभयोे । “सिस्नोपानीले पोल्छ, तर नेतालाई अचेल सिस्नोपानी न्यानो लाग्न थालेको छ”, उहाँले भन्नुभयो, “यसले हाम्रा क्रियाकलाप पारदर्शी र सचेत बनाउन मद्दत गर्छ ।”



सिस्नो नेपालले राष्ट्रिय भाव जागृत गर्ने ध्येयले ‘राष्ट्र’ शीर्षकमा सो कार्यक्रम आयोजना गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा सभामुख, मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेता उपस्थिति हुनुहुन्थ्यो । कार्यक्रममा राष्ट्रपति पौडेलले गायिका मेनुका पौडेललाई रु एक लाख र ताम्रपत्रसहित सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षामा सकारात्मक सोच ल्याउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा डा भगवान कोइरालाले देशको मुटु कुशल प्रशासन तन्त्र भएको र त्यसलाई जोगाउने कर्तव्य राजनीतिको हुने सुझाव दिनुभएको थियो । “प्रशासनले प्रभावशाली काम गर्ने वातावरण राजनीतिले दिने हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यको सम्झनामा सङ्गीत प्रस्तुत गरिएको थियो । उहाँकै गीत ‘जहा छन् बुद्धका आँखा।।।’ पाका कलाकारले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, हास्य कलाकार मनोज गजुरेल र चन्द्र दवाडीले ‘सहिद गेट’ नामक नाट्य प्रस्तुत गर्नुभएको थियो । कवि अर्जुन पराजुलीको ‘मेरो देशमा’, र लक्ष्मण गाम्नागेको ‘लेख्न बाँकी एउटा कविता’ ले समसामयिक राजनीतिक एवं सामाजिक विसङ्गति माथि व्यङ्ग्य पोखेको थियो । उक्त कार्यक्रमको परिकल्पना टङ्क आचार्यले गर्नुभएको थियो ।

सम्बन्धित समाचार