आइपिएलमा मुम्बईद्वारा बैंगलोर ७ विकेटले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा मुम्बईको यो दोस्रो जित हो भने बैंगलोरको पाँचौं हार । मुम्बईको वांङखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्कासहित ६१ रन बनाए भने दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्कासहित ५३ रनमा अविजित रहे ।



त्यस्तै रजत पाटिदार २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए । मुम्बईका लागि जस्प्रित बुमराहले ५ विकेट लिए भने जेराल्ड कोट्जी, आकाश माधवाल र श्रेयस गोपालले समान १-१ विकेट लिए ।

१९७ रनको लक्ष्य लिएर मैं उत्रेको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका लागि ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित ६९ रन बनाए भने सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्कासहित ५२ रन जोड्दा रोहित शर्मा ३८, हार्दिक पान्ड्याले २१ र तिलक बर्माले १६ रन बनाए । बैंगलोरका लागिआकाश दीप, विजयकुमार वैश्यक र विल ज्याक्सले १-१ विकेट लिए ।

जितसंगै मुम्बई ५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोड्दै सातौं स्थानमा छ भने ६ खेलमा १ मा जित र ५ हारसहित २ अंक जोडेको बैंगलोर नवौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार