पञ्जाबद्वारा टी-२० इतिहासकै उच्च स्कोर चेज, बने यस्तो कीर्तिमान

इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सले आइपिएलको सबैभन्दा ठूलो लक्ष्य पछ्याएको छ । शुक्रबार राति भएको खेलमा टोलीले चालू सिजनको ४२औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको थियो ।

घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा २६१ रन बनाएको थियो । प्रतियोगिताको १७ औँ सिजनमा ७ औं पटक २५० भन्दा बढी रनको स्कोर पार गरेको हो । कोलकाताले दिएको उक्त लक्ष्य पञ्जाबले १८।४ ओभरमा २ विकेट गुमाएर पूर गर्यो ।



पञ्जाबको तर्फबाट जोनी बेयरस्टोले शतक प्रहार गरे । उनले ४८ बलमा १०८ रन बनाएर अविजित रहे भने शशांक सिंहले २८ बलमा अविजित ६८ रन बनाएर टोलीलाई विशाल लक्ष्य पछ्याउन सफल भए । प्रभसिमरन सिंहले पनि २० बलमा ५४ रन बनाए । कोलकाताका सुनिल नारायणले एक विकेट लिए भने एक ब्याट्सम्यान रनआउट भए ।

कोलकाताको घरेलु मैदानमा इडेन गार्डेन रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । उसका लागि फिल साल्टले ३७ बलमा ७५ रन र सुनिल नारायणले ३२ बलमा ७१ रनको अर्धशतकीय पारि खेले । यी दुवैबीच शतकीय साझेदारी भएको थियो । त्यस्तै आन्द्रे रसेलले २४, वेंकटेश अय्यरले ३९ र श्रेयस अय्यरले २८ रन बनाए । पञ्जाबका लागि अर्शदीप सिंहले २ विकेट लिए ।

बने यस्तो किर्तिमान
पञ्जाबले यो कीर्तिमानी स्कोर १८.४ ओभरमा पछ्यायो। जुन टी–२० इतिहासमा सबैभन्दा सफल चेस हो। उक्त खेलमा कुल ४२ छक्का प्रहार भएको थियो जुन पहिलो पटक टी–२० खेलमा भएको थियो ।

पञ्जाबले टी–२० को सबैभन्दा ठूलो लक्ष्य पछ्यायो
पञ्जाब किंग्सले जोनी बेयरस्टोको शतक र शशांक सिंहको अर्धशतकको मद्दतमा १८।४ ओभरमा २६२ रनको लक्ष्य पछ्यायो । यो कुनै पनि टी–२० खेलमा सबैभन्दा ठूलो रन चेस हो । गत वर्ष दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २५९ को लक्ष्य सफलतापूर्वक पछ्याएको थियो।

आइपिएलको सबैभन्दा ठूलो लक्ष्य पञ्जाबले बनायो
पञ्जाबले आइपिएल इतिहासमा सबैभन्दा सफल चेस पनि गरेको छ । यसअघि सन् २०२० मा राजस्थानले पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो । यो कीर्तिमानमा पञ्जाबले २६२ रन बनाएर पहिलो स्थान हासिल गरेको छ ।

पञ्जाबले आइपिएलमा सर्वाधिक रन पछ्याउने क्रममा पनि बराबरी गरेको छ । यस सिजनको सुरुमा बैंगलोरले हैदराबादविरुद्ध २८८ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा २६२ रन बनाएको थियो ।

पञ्जाबले आइपिएलको एक इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्यो
पञ्जाब किंग्सले कोलकाताविरुद्धको इनिङ्समा कुल २४ छक्का प्रहार गरेको थियो । यो आइपिएलको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान हो । हैदराबादले यस वर्ष आरसीबीविरुद्ध २२ छक्का प्रहार गरेको थियो जुन कीर्तिमान पञ्जाबले तोड्यो ।

कोलकातामा मैदानमा लाग्यो ४२ छक्का
पञ्जाब र कोलकाताबीचको खेलमा कोलकाताले १८ र पञ्जाबले २४ छक्का प्रहार गरेको थियो । योसँगै टी–२० म्याचमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि यही खेलमा बनेको छ । यसअघि यस वर्ष नै एसआरएच र आरसीबीबीचको आइपि एल खेलमा ३८ छक्का प्रहार भएको थियो ।

कोलकाताले १८ छक्का प्रहार गर्यो
कोलकाता नाइट राइडर्सले पहिलो इनिङ्समा ब्याटिङ गर्दा कुल १८ छक्का प्रहार गरेको थियो । योसँगै टोलीले आइपिएलको एक इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानको बराबरी गरेको छ । यस वर्षको सुरुमा दिल्लीविरुद्ध २७२ रन बनाएको टोलीले १८ छक्का हानेको थियो ।

आइपिएलमा तेस्रो पटक ५०० भन्दा बढी रन बन्यो
कोलकाताले २६१ रन बनाएको थियो भने पञ्जाबले २६२ रन बनाएको थियो, अर्थात् खेलमा कुल ५२३ रन बन्यो । आइपिएल इतिहासमा तेस्रो पटक एक खेलमा ५०० भन्दा बढी रन बनेको छ । यसअघि हैदरावाद–मुम्बई र हैदरावाद–बैंगलोरबीचको खेलमा ५०० भन्दा बढी रन बनेको थियो । हैदराबाद र बैंगलोरबीचको खेलमा कीर्तिमानी ५४९ रन बनेको थियो ।

चार ओपनरकाे अर्थशतक
कोलाकाता र पञ्जाबका चार ओपनरले अर्धशतक बनाए । फिल साल्ट (७५), सुनिल नरेन (७१), प्रभसिमरन सिंह (५४) र जोन बेयर्सटो (१०८)। आइपिएलको कुनै पनि खेलमा चारै ओपनरले अर्धशतक बनाएको यो पहिलो पटक हो ।

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार