आइपिएलमा बैंगलोरको सानदार जित, गुजरात ९ विकेटले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको  छ । आइतबार भएको पहिलो खेलमा बैंगलोरले गुजरात टाइटन्सलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

जारी सिजनमा बैंगलोरको यो तेस्रो जित हो भने गुजरातको छैटौं हार । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०० रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ८४ रन शाहरुख खानले ५८ रनको अर्धशतकीय पारी खेले भने डेभिड मिलर २६ रनमा अविजित रहे ।



बैंगलोरको लागि स्वप्निल सिंह, मोहम्मद सिरिज र यश दयालले समान १-१ विकेट लिए । २०१ रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलोरले १६ ओभरमा एक विकेट गुमाउँदै  पूरा गर्यो । बैंगलुरुको लागि विल ज्याक्सले ४१ बलमा १० छक्का र पाँच चौकको मद्दतमा अविजित रहँदै एक सय रनको शतकीय पारी खेले भने विराट कोहलीले ४४ बलको सामना गरी तीन छक्का र ६ चौका प्रहार गर्दै ७० रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान फाफ डु प्लेसिसले  २४ रन बनाए ।

जितसँगै बैंगलोर १० खेलमा ३ जित र ७ हारसहित ६ अंक जोड्दै तालिकाको पुछारमा छ भने समान खेलमा ४ जित र ६ हारसहित ८ अंक जोडेको गुजरात सातौं स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार