आइपिएलमा पञ्जाबद्वारा चेन्नई ७ विकेटले पराजित

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्स विजयी भएको छ । बुधबार राति भएको खेलमा पञ्जाबले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा पञ्जाबको यो चौथों जित हो भने चेन्नईको पाँचौं हार । चेन्नईको एमए चिदम्बरमा स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । चेन्नईका लागि ऋतुराज गायकवाडले ६२ रनको अर्धशतकीय पारी खेले भने अजिंक्य रहाणेले २९ रन बनाए । त्यस्तै समिर रिजभीले २१ रन जोड्दा मोइन अलीले १५ र  महेन्द्रसिंह धोनीले १४ रन बनाए । पञ्जाबका लागि हरप्रित ब्रार र राहुल चहरले समान २-२ विकेट लिए भने कागिसो रबडा र अर्शदीप सिंहको भागमा समान १-१ रह्यो ।



१६३ रनको लक्ष्य लिएर मैदान उत्रेको पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको लागि जोनी बेयरिस्टोले ४६ रन बनाए रिली रोसोले ४३ रन जोडे । यस्तै, शंसाक सिंह २५ र साम कुरान २६ रनमा अविजित रहे । चेन्नईको लागि रिचार्ड ग्लेसन, शार्दुल ठाकुर र शिवम दुबेले समान १-१ विकेट लिए ।

जितसँगै पञ्जाब १० खेलमा ४ जित र ६ हारसहित ८ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ भने समान खेलमा ५ जित र ५ हारसहित १० अंक जोडेको चेन्नई चौथों स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार पौने आठ बजे राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद हैदराबादमा भिड्दै छन् ।

सम्बन्धित समाचार