नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ वैशाख ।
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई १ रनले पराजित गरेको हो ।
जारी सिजनमा हैदराबादको यो छैटौं जित हो भने राजस्थानको दोस्रो हार । हैदराबादको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । हैदराबादको लागि नितेश कुमार रेड्डी ४२ बलमा ३ चौका र ८ छक्कासहित अविजित रहँदै ७६ रनको अर्धशतकीय पारी खेले भने हेनरिक क्लासेन १९ बलमा ३ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे ।
त्यस्तै ट्रविस हेडले ५८ रन जोड्दा अभिषेक शर्माले १२ र अमोलप्रीत सिंहले ५ रन बनाए । राजस्थानका लागि आवेश खानले २ विकेट लिए भने सन्दीप शर्माको भागमा १ विकेट रह्यो । २०२ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २०० रन मात्र बनायो ।
राजस्थानको लागि रियन पराग र यशस्वी जैसवालले क्रमश: ७७ र ६७ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै शिम्रन हेटमायरले १३ र रोभम्यान पावेलले २७ रन जोडे । हैदराबादका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए भने प्याट कमिन्स र टी नटराजनको भागमा समान २–२ विकेट रह्यो ।
अन्तिम ओभरमा राजस्थानलाई जितका लागि १३ रन आवश्यक थियो । पहिलो ५ बलमा ११ रन आए पनि अन्तिम बलमा भुवनेश्वर कुमारले रोभमान पावेललाई एलबीडब्ल्यू आउट गर्दै टोलीलाई जित दिलाए । जितसँगै हैदराबाद १० खेलमा १२ अंक जोड्दै चौथो स्थानमा छ भने समान खेलमा १६ अंक जोडेको राजस्थान शीर्षस्थानमा रहेको छ । आइपिएल अन्तर्गत आज नेपाली समय अनुसार राति पौने ८ बजे मुम्बई इन्डियन्स र कोलकाता नाइटराइडर्स मुम्बईमा भिड्दै छन् ।