अन्तिम टी–२० खेलमा नेपाल विजयी, वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजित 

काठमाडौँमा सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी–२० शृङ्खलाको अन्तिम खेलमानेपाल विजयी भएको छ । शनिबार भएको अन्तिम खेलमा वेष्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित भएको हो ।

यसअघि नेपालले लगातार तीन खेलमा हार व्यहोरेपछि पाँच खेलको सिरिज भने वेस्ट इन्डिजले ३-२ ले जित्न सफल भयो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा १० रन, तेस्रो खेलमा ७६ रन र चौथो खेलमा २८ रनले पराजित भएको थियो ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७२ रन बनायो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २९ बल खेल्ने क्रममा एक चौका र तीन छक्का प्रहार गरे ।

यस्तै रोस्टन चेसले ३३ रन बनाए । उनले २१ बल खेल्ने क्रममा पाँच चौका हाने । जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए ।

एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । अठारौँ ओभरमा कुशल मल्लले पाँच बलमै २२ रन हानेपछि नेपाललाई विजयी बन्न सहज भएको हो । सो ओभरमा मल्लले चार चौका र एक छक्का प्रहार गरे । उनले १८ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ३७ रन बनाए ।

त्यस्तै आसिफ शेखले ५१ रनको योगदान दिए । उनले ३५ बलमा दुई चौका र चार छक्का हाने । अनिल शाहले ४५ बलमा चार चौका र चार छक्कासहित ५८ रन बनाए । कुशल भुर्तेलले १३ र दीपेन्द्रसिंह ऐरीले ५ रन बनाए ।बलिङतर्फ वेष्ट इन्डिज ‘ए’का ओबेद म्याककोयले तीन तथा म्याथ्यु फर्डले एक विकेट लिए ।

सम्बन्धित समाचार