ओली-नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

वर्तमान सत्तारुढ गठबन्ध भत्काउने गृहकार्यमा जुटेको नेपाली कांग्रेसले सत्तारुढ दलका दुई नेतालाई प्रधानमन्त्री बन्न अफर गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एमालेबाटै विभाजन भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसले प्रधानमन्त्री बन्न अफर गरेको हो ।

संघीय र प्रदेश सरकारबाट बाहिरिएपछि कांग्रेस सत्तामा पुग्न प्रधानमन्त्री बन्न नेताहरुलाई अफर गर्दै अहिलेको गठबन्धन भत्काउन खोजेको छ । गत २१ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससंगको सत्तासहकार्य तोडेर एमालेसंग मिलेका थिए । त्यस यता चिढिएको कांग्रेस जसरी पनि अहिलेको गठबन्धन भत्काउँने र प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गृहकार्यमा छ ।



तर प्रधानमन्त्रीको अफर दिदै हिडेको कांग्रेस भित्रै एकमत छैन् । कांग्रेस सभापति शेरबहादुर देउवा समूहले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाएर गठबन्धन भत्काउन खोजेका छन् । अर्को तर्फ कांग्रेस नेता शेखर कोइराला समूहले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको छ ।

पछिल्लो समय यही बिषयमा नेताहरुका बीचमा ‘कोठे’ छलफल तिब्ररुपमा भईरहेको छ । सत्तारुढ गठबन्धनभित्रको आन्तरिक समस्या एवं असन्तुष्टिकै बीचमा कांग्रेसले जसरी पनि यो गठबन्धन भत्काउन खोजेको छ । कांग्रेसले दुई बिकल्प सहित प्रचण्ड नेतृत्वको सरकारको विस्थापन गर्न खोजेको छ । दुई ‘प्लान’ सहित छलफलमा रहेको कांग्रेस दुबै मध्ये जुन प्रस्तावमा सहमती जुटे उही प्रस्तावलाई कार्यान्वयन गर्न तयार छ ।

कांग्रेस नेता कोइरालाले ओलीलाई पहिलो कार्यकाल प्रधानमन्त्री बन्न र त्यसपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् । तर ओलीले यस बारेमा कुनै जवाफ दिएका छैनन् । कोइरालाले यसबारेमा ओलीसंग उनकै निवास बालकोटमै घण्टौ छलफल गरेका छन् ।

एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन भत्काउने प्रत्यन भइरहेको जनाएका छन् । एमाले पश्चिम नवलपरासीको ९औं जिल्ला अधिवेशनलाई सुनवलमा उद्धघाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सूरु भइसकेको बताए । देशी विदेशी शक्तिहरु गठबन्धन भत्काउन लागिपरेको बताउँदै उनले एमाले यही गठबन्धन टिकाउने पक्षमा रहेको बताए । प्रतिक्रियावादी शक्तिले अहिलेको गठबन्धन भत्काए भने आगामी निर्वाचनबाट एमाले निर्णायक शक्तिको रुपमा उदाउने बताउँदै त्यसपछि गठबन्धनको आवश्यकता नै नपर्ने दाबी उनको छ । आजको राजधानी दैनिकमा खबर छ ।

 

सम्बन्धित समाचार