गुजरातलाई पराजित गरेसँगै बैंगलोरको प्लेअफ सम्भावना कायमै   

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले चौथों जित निकालेको छ । शनिबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गर्दै बैंगलोरले प्रतियोगितामा चौथों जित निकालेको हो ।

जितसँगै बैंगलोरले प्लेअफ’ सम्भावना कायम राखेको छ । बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा भएको खे लमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १ सय ४७ रनमा अलआउट भयो । गुजरातका लागि शाहरुख खानले ३७ रन बनाएभने राहुल टिवेटियाले ३५ रन जोडे ।



त्यस्तै डेभिड मिलरले ३० रन जोड्दा रसिद खानले १८ र विजय शंकरले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैंगलोरका लागि मोहम्मद सिराज, यश दयाल र विजयकुमार भ्यासकले समान २-२ विकेट लिए भने क्यामरुन ग्रिन र कर्ण शर्माले १-१ विकेट लिए । गुजरातले दिएको १ सय ४८ रनको लक्ष्य बैंगलोरले १३.४ ओभरमै ६ विकेट गुमाएर पूरा गर्‍याे ।

बैंगलोरका लागि कप्तान फाफ डुप्लेसिसले २३ बलमा १० चौका र ३ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय पारी खेले भने विराट कोहलीले २७ बलमा ४२ रन बनाए । यस्तै दिनेश कार्तिक २१ र स्वपनिल सिंह १५ रनमा अविजित रहे । गुजरातका लागि जोस लिटिलले ४ विकेट लिंदा नुर अहमदले २ विकेट लिए ।

जितसँगै बैंगलोर ११ खेलमा ८ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ भने समान खेलमा ८ अंक नै जोडेको गुजरात रनरेटमा पछि पर्दै नवौं स्थानमा झरेको छ ।

सम्बन्धित समाचार