सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-१२ बसन्तचोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना.२८ प ७०१२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका-११ जागृतीटोल बस्ने २९ वर्षीया प्रिती कुमालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुर्खेत, भेरीगंगा नगरपालिका-२ सप्तरीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार बिरेन्द्रनगर नगरपालिका-१२ बस्ने ४९ वर्षीय मान बहादुर चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ ।



मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको माया नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ । यतै मकवानपुर, थाहा नगरपालिका-९ ठुलोचौरस्थित सडकमा सडक मर्मतको काम गर्दै गरेको आरडी १०१-०३८ नम्बरको लोडर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा च्यापिएर लोडरका हेल्पर नुवाकोट घर भएका २८ वर्षीय सागर भण्डारीको मृत्यु भएको छ ।

लोडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता झापा, मेचिनगर नगरपालिका-१५ गाईनाबारीस्थित सडकमा मे.११ प ९०२ नम्बरको मोटरसाइकल र मे.१ त ५३१९ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कचनकवल गाउँपालिका-२ बस्ने २७ वर्षीय ज्ञान प्रसाद अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता डडेल्धुरा, नवदुर्गा गाउँपालिका-४ सिरुडास्थित सडकमा बागमती प्रदेश ०१००१ क ९६५१ नम्बरको टिपर सडकबाट करिब २ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा टिपर चालक धादिङ गजुरी गाउँपालिका-७ बस्ने ४० वर्षीय धिरज थापा मगर र टिपरमा सवार धादिङ रोडाङ गाउँपालिका बस्ने २७ वर्षीय बिष्णु विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी काठमाडौं, शंखरापुर नगरपालिका-९ खुलालटार स्थित सडकमा बा.प्र-०२-०२५ प २२०१ को स्कुटर र बा.३ ख.५२८० नम्बरको बस एकआपसमा ठक्कर भई शनिबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-६ साँखु बस्ने २४ वर्षीय रश्मिन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स लाईफ केयर अस्पताल सलम्बुटार हुँदै नेपाल मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा.८७ प ७२९४ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक ओखलढुङगा मेलुङगा गाउँपालिका-४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका बस्ने ५५ वर्षीय ओम प्रसाद दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै महोत्तरी, बलवा नगरपालिका-१ बन्चौरीस्थित सडकमा परौलबाट खुट्टा पिप्राडीतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००६ प ३९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक लोहारपट्टी नगरपालिका-४ बस्ने १८ वर्षीय रोशन ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार