आइपिएलमा चेन्नईको छैटौं जित, पञ्जाब २८ रनले पराजित 

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले छैटौं जित हासिल गरेको छ । आइतबार भएको खेलमा पञ्जाब किंग्सलाई २८ रनले पराजित गर्दै चेन्नईले प्रतियोगितामा छैटौं जित निकालेको हो ।

धर्मशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । चेन्नईका लागि रविन्द्र जडेजाले २६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४३ रन बनाए । त्यस्तै कप्तान रुतुराज गायकवाडले ३२ रन जोड्दा ड्यारी मिचेलले ३० तथा मोइन अली र शर्दुल ठाकुरले समान  १७–१७ रन बनाए ।



पञ्जाबका लागि राहुल चहर र हर्षल पटेलले समान ३–३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट लिँदा साम करनको भागमा १ विकेट रह्यो । चेन्नईले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिमरन सिंहले ३० रन बनाए भने शशांक सिंहले २७ रन जोडे । यस्तै हरप्रित ब्रारले १७ रन जोड्दा हर्षल पटेलले १२ र राहुल चाहरले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चेन्नईका लागि रविन्द्र जडेजाले ३ विकेट लिए भने तुषार देशपाण्डे र सिमरजीत सिंहले समान २-२ लिँदा मिचेल सान्टनार र शार्दुल ठाकुरको भागमा समान १-१ विकेट रह्यो । जितसँगै चेन्नई ११ खेलमा १२अङ्क जोड्दै तालिकाको  तेस्रो स्थानमा उक्लिएको छ समान खेलबाट ८ अङ्क जोडेको पञ्जाब आठौँ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार