सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-४ बुढितोलास्थित सडकमा सु.प.प्र.०२-००१ ख १२८७ नम्बरको बस र सु.प.प्र.०१-०११ प ९४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक डडेल्धुरा आलिताल गाउँपालिका-१ बस्ने ५५ वर्षीय पुर्ण बहादुर ऐरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-९ तुरुन्तपुरस्थित सडकमा लु.४ त १६४५ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर ट्याक्टरमा लेवर काम गर्ने सोही नगरपालिका-१ बनकट्टी बस्ने १६ वर्षीय रमेश थारूको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो ।



हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै काठमाडौं, कीर्तिपुर नगरपालिका-१० आयुर्वेदिक हस्पिटलस्थित सडकमा बा.३ ख २०२७ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय डा.गोबिन्द रिजालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा र बस चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उता कपिलवस्तु, कपिलवस्तु नगरपालिका-९ जर्लैया बस्ने ७५ वर्षीय राजकुमार यादबको साइकलबाट लडेर आइतबार दिउँसो मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यता नवलपरासी पूर्व, देवचुली नगरपालिका-१६ टाँगिकोट चोकमा बुटवलबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नम्बर १- ०१-००१ ख ४३६२ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१७ छिपेनी बस्ने ४७ वर्षीय यमलाल घिमिरेको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार