कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर साविक चित्लाङ गाबिस-३ सिरूपाटा ठेगाना भएका तत्काल नेपाली सेनाको श्री नं. ७ बाहिनीस्थित अड्डा चनवन मकवानपुरमा कार्यरत ४७ वर्षीय शंकर आलेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

शंकर आले समेतका व्यक्तिहरूले मकवानपुर साविक चित्लाङ गाबिस-३ स्थित कच्ची सडकमा मकवानपुर साविक मार्खु गाबिस-४ बस्ने पूर्ण बहादुर बिष्टलाई व्यक्तिगत रिसिइवीका कारण २०६१ कात्तिक २९ गते बेलुकी कुटपिट गरेको र भोलिपल्ट मकवानपुरको मार्खु र चित्लाङ भन्ने स्थानको दोसाधमा पर्ने काल्सिङ् खोलामा पूर्ण बहादुरको शव फेला परेको थियो ।



जिल्ला अदालत मकवानपुरको २०७२ वैशाख २३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा शंकरलाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम जन्म कैद हुने ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नवलपरासी देवचुली नगरपालिका-३ प्रगतिनगरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।

सम्बन्धित समाचार