आइपिएलमा मुम्बईद्वारा हैदराबाद ७ विकेटले पराजित  

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा हैदराबाद मुम्बईसँग ७ विकेटले पराजित भएको हो ।

हैदराबाद पराजित भएपनि उसको प्लेअफ सम्भावना भने जिवितै रहेको छ भने मुम्बईको प्लेअफ पुग्ने सम्भावना भने समाप्त भइसकेको छ । मुम्बईको घरेलु मैदान वाङंखडेमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।



हैदराबादका लागि ट्रेभिस हेडले ४८ रन बनाए भने कप्तान प्याट कमिन्स ३५ रनमा अविजित रहँदा नितिशकुमार रेड्डीले २० रन जोडे । मुम्बईका लागि हार्दिक पाण्ड्या र पियुष चाहुलाले समान ३-३ विकेट लिए । १७४ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे ।

मुम्बईको लागि सुर्यकुमार यादवले ५१ बलमा १२ चौका र ६ छक्का प्रहार गर्दै १०२ रनको अविजित शतकीय पारी खेले भने तिलक वर्माले ३२ बलमा ६ चौकाको सहयोगमा ३७ रन बनाए । ३१ रनमा ३ विकेट गुमाएको मुम्बईका लागि यादव र वर्माले चौथों विकेटको लागि १४३ रनको अविजित साझेदारी गरेका थिए । हैदरबको लागि भुवनेश्वर कुमार, प्याट कमिन्स र मार्को यान्सेनले समान १-१ विकेट लिए ।

प्लेअफबाट बहिरिसकिएको मुम्बई १२ खेलमा ८ अङ्क जोड्दै नवौं स्थानमा उक्लिएको छ भने ११ खेलेबाट १२ अंक जोडेको हैदराबाद चौथों स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स नेपाली समय अनुसार पौने आठ बजे भिड्दैछन् ।

 

सम्बन्धित समाचार