आइपिएलमा लखनउमाथि हैदराबादको १० विकेटको सानदार जित

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले सातौं जित निकालेको छ । बुधबार राति भएको खेलमा हैदराबादले लखनउ सुपर जायन्टसमाथि १० विकेटको सानदार जित निकालेको हो ।

जारी सिजनमा लखनउको भने यो छैटौं हार हो । हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । लखनउका लागि आयुष बदोनीले अविजित रहँदै ५५ रनको अर्धशतकीय पारी खेले भने निकोलस पूरन ४८ रनमा नट आउट रहे ।



त्यस्तै, कप्तान केएल राहुलले २९ रन जोड्दा क्रुनाल पाण्ड्याले २५ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमारले २ विकेट लिए भने कप्तान प्याट कमिन्सको भाह्मा १ विकेट रह्यो । लखनउले प्रस्तुत गरेको १६६ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदराबादले ९.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।

हैदराबादको लागि ट्रेविस हेडले क्विजित रहँदै ८९ र अभिषेक शर्माले ७५ रनको अर्धशतकीय पारी खेले । जितसँगै हैदराबाद १२ खेलमा ७ जित र ५ हारसहित १४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट ६ जित र ६ हारसहित १२ अंक जोडेको  लखनउ छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति नेपाली समय अनुसार पौने आठ बजे रोयल च्यालेन्जर्स बैंगलोर र पन्जाब किंग्स भिड्दै छन् ।

सम्बन्धित समाचार