आज अक्षय तृतीया : जौँको सातु र सर्वत खाएर मनाइँदै

हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज(शुक्रबार)जौँको सातु र सर्वत दान तथा खाएर मनाइँदैछ । शास्त्रीय विधानअनुसार सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ ।

दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने चलन छ ।



यस दिन गरेको स्नान, दान, ध्यान र जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त विश्वास छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । आजका दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ ।

सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो । धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । परशुराम भगवान विष्णुको छैटौँ अवतारका रुपमा जन्मिएका हुन् ।

यसैबीच, मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ । ब्राह्मणलाई जौँ, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ ।

 

 

सम्बन्धित समाचार