आइपिएलमा पञ्जाबको प्लेअफ सम्भावना समाप्त, बैंगलोर ६० रनले विजयी

बैंगलोरको प्लेअफ सभावना भने जिवितै 

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको  छ । बिहीबार राति भएको खेलमा बैंगलोरले पञ्जाब किंग्सलाई ६० रनले पराजित गरेको हो ।

जारी सिजनमा बैंगलोरको यो पाँचौं जित हो भने पञ्जाबको आठौँ हार ।  जितसँगै बैंगलोरको प्लेअफ पुग्ने सम्भावना जिवितै छ भने पराजित पञ्जाबको प्लेअफ पुग्ने सपना समाप्त भएको छ । पञ्जाबको घरेलु मैदान धर्मशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।



बैंगलोरका लागि विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९२ र रजत पाटिदारले ५५ रनको अर्धशतकीय पारी खेले भने क्यामरुन ग्रीनले ४६ रन जोड्दा दिनेश कार्तिकले १८ रन बनाए । पञ्जाबको लागि हर्षल पटेलले ३ विकेट लिए । २४२ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको पञ्जाब १७ ओभरमा १८१ रनमा समेटियो । पञ्जाबका लागि राइली रूसोले ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्यस्तै शसांक सिंहले ३७ रन जोड्दा जोनी बेयरिस्टोले २७ र स्याम करनले २२ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले ३ विकेट लिए भने स्वपनिल सिंह, लक्की फर्गुसन र कर्न शर्माको भागमा समान २-२ विकेट रह्यो । जितसँगै बैंगलोर १२ खेलमा ५ जित र ५ हारसहित १० अंक जोड्दै सातौं स्थानमा छ भने समान खेलमा ४ जित र ८ हारसहित ८ अंक जोडेको पञ्जाब नवौं स्थानमा रहेको छ । आइपीएलमा आज राति नेपाली समय अनुसार पौने आठ बजे गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्स भिड्दै छन् ।

सम्बन्धित समाचार