नक्कली नोटसहित छ जना पक्राउ

नक्कली नोटसहित मकवानपुर र मोरङबाट छ जना पक्राउ परेका छन् । मकवानपुर, कैलाश गाउँपालिका-९ कुवापानी बस्ने १८ वर्षीय किशोरलाई नेपाली एक हजार दरको १२ थान नक्कली नोटसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले सोही ठाउँस्थित किराना पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।



साथै थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका-१४ घर भई सोही उपमहानगरपलिका-४ हुप्राचौर डेरा गरी बस्ने ३४ वर्षीय सुनिल ढुंगानाको कोठाबाट नेपाली एक हजार दरको ४३ थान नक्कली नोट फेला पारी सुनिल, मकवानपुरगढी गाउँपालिका-४ बस्ने २१ वर्षीय सोमराज थोकर, २८ वर्षीय अजित अर्याल र १८ वर्षीय किशोरलाई समेत बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै मोरङ, रंगेली नगरपालिका-९ दोहमनाबाट नेपाली पाँच सय दरको १८ थान नक्कली नोटसहित सुनवर्षी नगरपालिका-५ टकुवा बस्ने ४० वर्षीया कुरेसा खातुनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार