नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० वैशाख ।
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइटराइडर्स प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकाता प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
जारी सिजनमा कोलकाताको यो नवौं जित हो भने मुम्बईको नवौं हार । कोलकाताको घरेलु मैदान इडेन गार्डेन मैदानको भएको खेल वर्षाका कारण १६-१६ ओभरमा घटाइएको थियो । उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । कोलकाताको लागि बेंकटेस अय्यरले ४२ रन बनाए भने नितिश रानाले ३३ रन जोडे ।
त्यस्तै, आन्द्रे रसेलले २४ रन जोड्दा रिन्कु सिहले २० र रमनदिप सिंह १७ रनमा अविजित रहे । मुम्बईका लागि जसप्रित बुमराह र पियुष चाहुलाले समान २-२ विकेट लिए भने नुवान तुसारा र अन्सुल कमबोजको भागमा समान १-१ विकेट रह्यो । १५८ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै १३९ रनमात्र बनाउन सक्यो ।
मुम्बईका लागि इशान किशनले ४०, तिलक बर्माले ३२, रोहित शर्माले १९ र नमन धिरले १७ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन । कोलकाताको लागि हर्षित राना, बरुण चक्रवती र आन्द्रे रसेलले समान २-२ विकेट लिए भने सुनिल नारायणको भागमा एक विकेट रह्यो ।
जितसँगै कोलकाता १२ खेलमा ९ जित र ३ हारसहित १८ अंक जोड्दै शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको छ भने १३ खेलमा ४ जित र ९ हारसहित ८ अंक जोडेको मुम्बई पुछारबाट दोस्रो स्थानमा रहेको छ ।