नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० वैशाख ।
अवैध रूपमा ल्याएको सुन समेतका सामानसहित सुनसरी रामधुनी नगरपालिका-७ घर भएका काठमाडौं कुमारीगाल नयाँ बस्ती बस्ने ३२ वर्षीय जीवन बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
कतारबाट अवैध रूपमा सुन ल्याएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिहीबार सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने विजय कुमार लिम्बुलाई ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको गहना सहित पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा जीवन बस्नेतको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत काठमाडौं गौशलाबाट प्रहरीले पक्राउ गरेको हो । सुन जस्तो देखिने पहेंलो धातु ५० ग्राम, आईफोन ४ थान, नगद १ लाख ६० हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ । कतारबाट ५० ग्राम सुन ल्याईदिए वापत १६ हजार रूपैयाँ रकम दिने गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिई सम्बन्धित व्यक्तिसम्म पुर्याइदिए वापत ५ हजार रूपैयाँ दिने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गौचरणमा पठाइएको छ ।