नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० वैशाख ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर घर भई काठमाडौं आरूबारी बस्ने ३० वर्षीय निमा रिन्जिन, ललितपुर, ललितपुर महानगरपालिका-९ इमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, ५६ वर्षीया कल्पना बज्राचार्य र रामेछाप मन्थली नगरपालिका-९ घर भई काठमाडौं जोरपाटी बस्ने ३४ वर्षीया चन्द्र माया थापा कार्की रहेका छन् ।
पक्राउमध्ये निमाले बेलायत पठाईदिन्छु भन्दै १० जना पीडितहरूबाट ५६ लाख ५० हजार रूपैयाँ, प्रकाश र कल्पनाले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख रूपैयाँ र चन्द्रमायाले स्पेन पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।