सट्टाबाजी गर्ने/गराउनेमा संलग्न एक जना पक्राउ

विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वानएक्स बेट, जुवा ३६५, क्रिप्टो मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने/ गराउनेमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ढुंगानाले विभिन्न ब्यक्तिहरूको नाममा रहेका मोबाइल नम्बरहरूबाट ११ वटा कनेक्ट आइपिएस एकाउन्ट, १५ वटा इसेवा वालेट एकाउन्ट लगायतका एकाउन्टहरूमा लिंक अप भएका ५६ वटा बैंक खाताबाट हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार १ सय २ रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।



सट्टेबाजी गर्न/गराउन प्रयोग भएका ल्यापटप १ थान, मोबाइल ६ थान, वाइफाइ राउटर १ थान, सिमकार्ड ३८ थान, एटिएम कार्ड ५ थान, चेकबुक १६ थान, भारतीय आधारकार्ड १ थान, भारतीय प्यान कार्ड १ थान लगायत अन्य कागजातहरू समेत प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ ।

सम्बन्धित समाचार