नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-४ नख्खुदोबाटोमा बा.४ ख १०४ नम्बरको बसले बागमती प्रदेश ०१ ०२-०५१ प ३८५० नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका-२६ ढोलाहिटी बस्ने ४६ वर्षीया सविता थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रूपन्देही, तिलोत्तमा नगरपालिका-१५ पत्थरडाँडास्थित सडकमा रोकी राखेको ना.१ क ४३६४ नम्बरको क्रेनमा बा.१५ च ६४०७ नम्बरको कार ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा कार चालक बुटवल उपमहानगरपालिका-११ देविनगर बस्ने ६७ वर्षीय दुर्गा बहादुर गुरूङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सिन्धुली, गोलन्जोर गाउँपालिका-३ कात्तिके स्थित सडकमा ग्वालटारबाट खोक्लिङतर्फ जाँदै गरेको ना.६ त २२२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक गोलन्जोर गाउँपालिका-२ बस्ने ३१ वर्षीय रोशन बहादुर मगरको मृत्यु भएको छ ।
उता दैलेख, दुल्लु नगरपालिका-६ धाडाको जंगलस्थित सडकमा भस्नेपाटीबाट खड्केगैरातर्फ जाँदै गरेको भे.१ त ८९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुल्लु नगरपालिका-६ खच्चे गैरा बस्ने ५५ वर्षीय मान बहादुर रावलको घटनास्थलमै र गम्भीर घाइते भएका ट्याक्टर चालक सोही ठाउँ बस्ने २५ वर्षीय कमल शाही र ट्याक्टरमा सवार ५६ वर्षीय कमारो रावलको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यता सिन्धुपाल्चोक, चौतारा सागाचोक गढी नगरपालिका-८ जलकिनेस्थित सडकमा वनदेउफबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प ९५३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २३ वर्षीया ईन्दिरा अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल र बागमती प्रदेश ०१-००६ ख २७१६ नम्बरको टिपर एक आपसमा क्रस हुने क्रममा सागुरो बाटो र मोड भएको कारण मोटरसाइकल र टिपरले अचानक ब्रेक लगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी हुम्ला, सिमकोट गाउँपालिका-४ स्याम्ने हुल्दङ खोला भन्ने ठाउँमा सिमकोट बजारतर्फ जाँदै गरेको लु.४ त १४४९ नम्बरको ट्याक्टरबाट खसेर सिमकोट गाउँपालिका-२ बस्ने ५५ वर्षीया नानी बोहराको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल हुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी मोरङ, केराबारी गाउँपालिका-५ मदन भण्डारी राजमार्ग बगैचा चोकमा बा.११ च २९२८ नम्बरको पिकअप भ्यानले प्र.१-०२-००२ ह ९२४४ नम्बरको अटोलाई आइतबार दिउँसो ठक्कर दिँदा अटो चालक केरावारी गाउँपालिका-६ बस्ने ४५ वर्षीय मेख बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।