सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कैलाली, लम्कीचुहा नगरपालिका-३ बल्चौरस्थित सडकमा युके ०४ पिए १९०५ नम्बरको एम्बुलेन्स मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्समा सवार बर्दिया राजापुर नगरपालिका-९ बस्ने १८ वर्षीया अन्जली परियारको मृत्यु भएको छ ।

विरामी भई भारतको हल्द्वानीबाट उपचार गराई घर फर्कने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको स्थानीय अस्पताल लालरत्न लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै धनकुटा, साँगुरिगढी गाउँपालिका-६ चारखोले गोलाईस्थित सडकमा भेडेटारबाट धनकुटातर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ८९३४ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका नरेश विश्‍वकर्माको छोरा १० वर्षीय शिसाङ विश्‍वकर्माको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।



टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै चितवन, रत्ननगर नगरपालिका-३ शान्तिचोकस्थित सडकमा ना. ३७ प ४९०९ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले गएराति ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका-८ बस्ने ३३ वर्षीय प्रविण कुँवरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । यता सप्तरी, कन्चनरूप नगरपालिका-१ बैरवास्थित सडकमा प्र.१-०४-००१ च ०५०२ नम्बरको पिकप भ्यानको ठक्करबाट साइकलयात्री हनुमाननगर कंकालिनी नगरपालिका-१ बस्ने ५५ वर्षीय पञ्चेश्वर मण्डलको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगर उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार