आइपिएलमा लखनउमाथि दिल्लीको १९ रनको जित 

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्समाथि १९ रनको जित निकालेको हो ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ५८ र ट्रिस्टन स्टब्सले ५७ रनको पारी खेले भने साही होपले ३८ रन जोड्दा कप्तान ऋषभ पन्तले ३३ र अक्षर पटेल १४ रनमा अविजित रहे । लखनउको लागि नवीन उल हकले २ विकेट लिए भने अर्सद खान र रवि विश्न्वईको भागमा समान १-१ विकेट रह्यो ।



२०९ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रनमात्र बनाउन सक्यो । लखनउका लागि निकोलस पुरनले ६१ र अर्सद खानले ५८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

दिल्लीको लागि इशान्त शर्माले ३ विकेट लिए भने खलील अहमद, कुलदीप यादव, अक्सर पटेल, मुकेश कुमार र ट्रिस्टन स्टब्सको भागमा समान १-१ विकेट रह्यो । जितसँगै दिल्ली १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक जोड्दै जारी सिजनको खेल पूरा  गर्दै तालिकाको छैटौं स्थानमा छ भने १३ खेलमा ६ जित र ७ हारसहित १२ अंक जोडेको लखनउ सातौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार