नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ जेठ ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-१ रगनी होल्पुस्थित सडकमा लिखु ४ हाइड्रोपावरको को.२ त ८६२६ नम्बरको ट्याक्टर होल्पुबाट हाईड्रोपावरको ड्यामसाईड बिमिरेतर्फ जाने क्रममा शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-३ चण्डेश्वरी बस्ने २१ वर्षीय आयुष सुनुवारको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १२ जनालाई रामेछाप सिरेसेस्थित स्थानीय मेडिकल हुँदै थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै धनुषा, विदेह नगरपालिका-७ जोगियाहास्थित सडकमा प्र.२-०२-००४ प ३७८२ नम्बरको मोटरसाइकल र ना.४ ख ५७० नम्बरको बस एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको रामजानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै सप्तरी, खडक नगरपालिका-५ रंजितपुरस्थित सडकमा ना.८ ख २८१६ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-५ खरचुइया बस्ने ६० वर्षीय मखन साहको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता रौतहट, देवाही गोनाही नगरपालिका-४ फुलवरीया टोलस्थित सडकमा प्रदेश २- ०३-००१ ख ७०२७ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने शेख अस्ताककी छोरी ४ वर्षीया खतिजा खातुनको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता गुल्मी, रूरूक्षेत्र गाउँपालिका-१ मकर्दीस्थित सडकमा पोखराबाट तम्घासतर्फ जाँदै गरेको लु.१ ख ८१७५ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा सहचालक हाल वतन नखुलेका अन्दाजी ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका बसमा सवार ७ जनाको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । यसैगरी पर्सा, पोखरीया नगरपालिका-९ बैरीयास्थित सडकमा मधेश प्रदेश-०३-०३१ प ९६७५ नम्बरको मोटरसाइकल र ना.२८ प ९४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा ना.२८प ९४४३ नम्बरको मोटरसाइकलमा सवार वीरगंज महानगरपालिका-१९ केहुनिया बस्ने २२ वर्षीय इरफान मियाँको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि निलकण्ठ अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मधेश प्रदेश-०३-०३१ प ९६७५ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको नेशनल मेडिकल शिक्षण अस्पताल वीरगंज र ना.२८प ९४४३ नम्बरको मोटरसाइकलका चालकको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
यस्तै सिरहा, भगवानपुर गाउँपालिका-२ जनता चोकस्थित सडकमा भगवानपुर चोकबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश ०२-०१-००१ ह ०४२३ नम्बरको सिटी रिक्सा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा रिक्सामा सवार सप्तरी सुरूङ्गा नगरपालिका-७ पोखरिया बस्ने ४७ वर्षीया दुर्गी पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका रिक्सामा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।