नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ जेठ ।
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को आफ्नो अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लखनउले मुम्बईमाथि १८ रनको जित निकालेको हो ।
मुम्बईको घरेलु मैदान वानखेडेमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । लखनउको लगी निकोलन पुरनले ७५ र कप्तान केएल राहुलले ५५ रनको अर्धशतकीय पारी खेले भने मार्कस स्टोइनिसले २८ रन जोड्दाआयुष बडोनीले २२ रन बनाए ।
मुम्बईका लागि नुवान थुसारा र पियुष चावलाले समान ३-३ विकेट लिए । २१५ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रनमात्रै बनायो । मुम्बईको लागि रोहित शर्माले ६८ र नमन धिरले ६२ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।
त्यस्तै डेवाल्ड ब्रेभिसले २३ रन जोड्दा कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन बनाए । लखनउका लागि नवीन उल हक र रवि विश्नाइले समान २-२ विकेट लिए भने तथा क्रुनाल पाण्ड्या र मोहसिन खानको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै १४ खेलमा १४ अंक जोडेको लखनउ छैटौं स्थानमा छ समान खेलमा ८ अंक जोड्दै मुम्बई अंक तालिकाको पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति पौने आठ बजे चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् ।