नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ जेठ ।
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बैंगलोर प्लेअफमा प्रवेश गरेको छ । शनिबार राति भएको भएको आफ्नो लिग चरणको अन्तिम खेलमा बैंगलोरले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफमा प्रवेश गरेको हो ।
बैंगलोरले समान १४ अंक रहेका चेन्नई, दिल्ली र लखनउलाई रनरेटमा पछि पार्दै अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको हो । बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियम बेंग्लुरुमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान फ्याफ डु प्लेसिसले ५४ रनको अर्धशतकीय पारी खेले भने विराट कोहलीले ४७ रन बनाए ।
त्यस्तै रजत पतिडरले ४१ रन जोड्दा क्यामरुन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रन बनाए ।चेन्नईको लागि शार्दुल ठाकुरले २ विकेट लिए भने तुशार देशपाण्डे र मिचेल स्यान्टनरको भागमा समान १-१ विकेट रह्यो । चेन्नईलाई प्लेअफमा पुग्न २ सय १ रन बनाउनु पर्ने थियो । तर बैंगलोर दिएको २ सय १९ पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो ।
चेन्नेइका लागि रचिन रवीन्द्रले ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रवीन्द्र जडेजा ४२ रनमा अविजित रहँदा अजिङ्क्या रहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए । अन्तिम ओभरमा चेन्नईलाई प्ले अफ पुग्नको लागि १७ रन चाहिएको अवस्थामा क्रिजमा मेहेन्द्रसिंह धोनी र रविन्द्र जडेजा थिए । अन्तिम ओभर बलिङ्ग गर्न आएका यस दयालको पहिलो बलमै धोनीले छक्का प्रहार गर्दै सानदार सुरुवात दिलाए । तर दोस्रो बलमा उनी आउट भए र अन्तिम ४ बलमा चेन्नईले १ रन मात्रै जोड्न सक्यो ।
बैंगलोरका लागि यश दयालले २ विकेट लिए भने ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनको भागमा समान १-१ विकेट रायो । प्रतियोगिता अन्तर्गत आज दिउँसो पौने ४ बजे सनराईजर्स हैदराबाद र पञ्जाब किंग्स खेल्दै छ राति पौने आठ बजे राजस्थान रोयल्स र कोलकाता नाईट राइडर्स भिड्दै छन् ।