नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।
सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की, पोखरा महानगरपालिका-४ बस्ने ३८ वर्षीय यम बहादुर बिक, सोही महानगरपालिका-९ बस्नेहरू २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय बिक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चिरी तथा २० वर्षीय लक्ष्मण सिंह, सोही महानगरपालिका-७ बस्ने २२ वर्षीय विकाश श्रेष्ठ र सोही महानगरपालिका-२६ बस्ने २८ वर्षीय साजन परियार रहेका छन् ।
पोखरा महानगरपालिका-९ स्थित पृथ्वीचोक, बसपार्क एरियामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आफु अनुकूलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषधजन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरूलाई दु:ख हैरानी दिईरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।