नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ जेठ ।
अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सन्दीपले आफूलाई भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको जानकारी दिएका हुन् ।
बलात्कार मुद्दामा गत बुधबार पाटन उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारी गरेका थिए । तर अन्तिम समयमा सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ।
सन्दीपले फेसबुकमा भनेका छन्, ‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्यो; ‘दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’
त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दुर्गा पाठकले सन्दीपले भिसा नदिएको कुरा क्यानलाई जानकारी दिएको र क्यानले अझै भिसा प्रक्रियाका लागि सक्दो प्रयास गर्ने बताए ।