करेन्ट लागेर तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलैया बस्ने ४० वर्षीया तैरूक खाँ को करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।

आफ्नै घरभित्र फुटेको होल्डरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै कैलाली, गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित गोदावरी इँटा उद्योगमा काम गर्ने भारत लखिमपुर खिरी बस्ने ५५ वर्षीय शिव राज गौतमको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।



इँटा उद्योगमा रहेको विद्युतीय मोटर जडित नल्कामा पानी पिउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै पाँचथर, कुम्मायक गाउँपालिका-१ गैरिगाउँ बस्ने ६८ वर्षीया शुक्रमती लावतीको आफ्नै घरको आँगनमा रहेको विद्युतको तारबाट करेन्ट लागेर गएराति मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार