नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवन, कालिका नगरपालिका-१० पाईमाराङ्स्थित सडकमा काउलेबाट सिद्धीतर्फ जाँदै गरेको बा.प्र ०३-००१ क २५८ नम्बरको जेसिबि सडकबाट करिब ३ सय मिटर तल खसेर बिहिबार दिउँसो दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका-१० बस्ने ३६ वर्षीय कृष्ण बहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै कैलाली, घोडाघोडी नगरपालिका-५ डोकेबजारस्थित सडकमा से.४ प १४३० नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-०१ प ९७४४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा र सु.प.प्र.०१-०१ प ९७४४ नम्बरको मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-५ देउकलिया बस्ने ३९ वर्षीय चनकलाल चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएको उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका से.४ प १४३० नम्बरको मोटरसाइकलमा सवार दुई जना मध्ये १ जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने र अन्य १ जनालाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ ।
यस्तै रूपन्देही, मायादेबी गाउँपालिका-८ बडिलियास्थित सडकमा ग.२ ख १३९३ नम्बरको ट्रकको ठक्करबाट सिद्धार्थनगर नगरपालिका-९ कठौतिया बस्ने १६ वर्षीय गोलु मल्लाहको बिहिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवा हुँदै थप उपचारको लागि भारततर्फ लैजाने क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।