नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ जेठ ।
देशका विभिन्न स्थानबाट डुबेर तीन जनाको मृत्यु भएको छ । दाङ, घोराही उपमहानगरपालिका-१८ फुर्सेकाली बस्ने मदन घर्तीको छोरा २ वर्षीय इभान घर्तीको छिमेकीको नयाँ बन्दै गरेको घरको कम्पाउण्डभित्र रहेको पानी ट्याङकीमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी दाङ, लमही नगरपालिका-१ डोडहीस्थित पाँच गाउँले कुलोको घेचकटला बाधमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-२ डोडही बस्ने होम बहादुर थापाको छोरा १८ वर्षीय बिपिन थापाको बिहीबार दिउँसो मृत्यु भएको छ ।
त्यस्तै सुनसरी, कोशी गाउँपालिका-६ मुसहरीटोल बस्ने शंकर सदाको छोरा १८ महिनाको रिपिट कुमार सदाको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ । खेल्ने क्रममा खाल्डोमा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल इनरूवा
सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।